सभापति देउवाले उपसभापति विमलेन्द्र निधिलाई आफ्ना तर्फबाट विवाद मिलाउन जिम्मेवारी दिएका थिए। तर अब निधिसँग वार्ता गर्नु औचित्यपूर्ण नहुने उनले बताए।
‘सभापतिले विधान मिलेर एकलौटी निर्णय गर्नुभएको छ। सच्याउनुपर्छ,’ सिंहले मंगलबार आफ्नै निवास चाक्सीबारीमा पत्रकारहरूसँग भने, ‘उहाँको नेतृत्वमा गल्ती गरेकोले सच्याउने इनिसेसन पनि सभापतिले नै गर्ने हो। फलानो टोली पठाएको छु भनेर अब वार्ता हुँदैन।’
१४ औं महाधिवेशन ०७७ फागुन ७ देखि १० सम्म काठमाडौंमा गर्ने, २८ विभाग बढाएर ४७ पुर्याउनेलगायत निर्णय सभापति देउवाले आफू पक्षका केन्द्रीय सदस्यलाई राखेर गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्ष रूष्ट छ। ‘महाधिवेशन ०७७ फागुनमा तोकेर हुँदैन। मंसिरसम्म गरिसक्नुपर्छ। फागुनमा केही घटना घट्यो भने फेरि महाधिवेशन सार्ने चलखेल हुन सक्छ त्यसैले मंसिरमै गरिनुपर्छ,’ उनले भने।
सभापति देउवाले निर्णय सच्याउन नचाहे दवाव दिन जिल्ला सभापति, महासमिति सदस्यको भेला गर्ने र देशैभर जाने पनि उनले बताए।
‘यो नेतृत्वबाट कांग्रेस अघि बढ्न सक्दैन,’ उनले भने, ‘असक्षम नेतृत्वका कारण भातृ संस्थाको अधिवेशन पनि हुन सकेको छैन। अब हामी पार्टी संस्थागत गर्न टिम बनाउँदैछौं।’
सिंहले कसको नेतृत्वमा देउवाइतर टिम बन्दैछ भन्नेबारे खुलाएनन्। तर टिम निर्माणका लागि मंगलबारदेखि नै छलफल सुरू हुने उनले जानकारी दिए।
देउवाले विधानका धाराहरू निलम्बन गरेकोमा सच्याउनुपर्ने उनले बताए।
‘कस्तो आनन्दसँग धाराहरू निलम्बन गर्नुभएको छ। शेरबहादुरजीले खल्तीबाट निकालेर क्रियाशील सदस्यता दिने हो?,’ उनले प्रश्न गरे, ‘महाधिवेशन फ्रि एण्ड फेयर हुनुपर्छ। यहाँ त कब्जा गरेकैजस्तो देखियो।’
देउवा फेरि सभापति हुनका लागि विधानका धाराहरू आफूअनुकूल निलम्बन गरेको आरोप उनले लगाए।
‘फेरि पार्टी सभापति हुने खालको गरी महाधिवेशन घोषणा गर्ने र धारा निलम्बन गर्ने गरिएको छ,’ सिंहले भने।
पार्टी संस्थागत गर्ने गरी नयाँ नेतृत्व आएपछि बिग्रेका सबै पक्षमा सुधार आउने दाबी उनले गरे।
‘उहाँ (सभापति) को स्टाइल भन्ने कि के भन्ने, अन्तिम समयमा अहिले मिलेन भने त पार्टी गइगो नि भन्दै विधान मिच्नुहुन्छ,’ उनले भने। सेतोपाटीबाट साभार