नेकपाले बोलायो स्थायी कमिटी बैठक
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले बुधबारका लागि स्थायी कमिटी वैठक बोलाएको छ ।
पार्टी कार्यालय धुम्बाराहीमा ११ बजे बस्ने गरी स्थायी कमिटी वैठक बोलाइएको एक नेताले जानकारी दिए । स्थायी कमिटी सदस्यहरुलाई बैठक बोलाइएको भन्दै पार्टी कार्यालयबाट टेलिफोन र एसएमएस आएको ती नेताले बताए ।
एक स्थायी कमिटी सदस्यका अनुसार भोलि बैठक सुरु मात्र हुने र छलफल बजेटपछि मात्र हुन सक्ने सम्भावना छ ।
सरकारले दल फुटाउन सहज हुने गरी अध्यादेश ल्याएपछि नेकपामा विवाद चर्किएको थियो । त्यही बेला २० जना स्थायी कमिटी सदस्यले अध्यक्षद्वयलाई लिखित पत्र लेखेर बैठक माग गरेका थिए । सचिवालयमा सहमति बनेसँगै २५ गतेका लागि स्थायी कमिटी बैठक बोलाइएको पनि थियो ।
तर नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच असमझदारी बढेपछि अन्तिम समयमा आएर बैठक स्थगित भयो । त्यसयता बैठक बोलाउने विषयमा दुई नेताबीच पटकपटक छलफल भएको थियो ।