एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने
काठमाडौं, वैशाख ३० गते । गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै ई-पास खारेज गरेको छ ।
मंगलबार मात्र कोरोना भाइरस (कोभिड(१९) का थप ८३ जना संक्रमित भेटिएको छ भने प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन खुकुलो भएकोमा असन्तुष्टि जनाएका थिए ।
लगतै गृह मन्त्रालयले सबै जिल्लालाई परिपत्र गर्दै जेठ १ गतेबाट लागू हुने गरी सबै पास खारेज गर्न निर्देशन दिएको हो । गृह मन्त्रालयका उपसचिव उमाकान्त अधिकारीका अनुसार बिहीबारदेखि लागू हुने गरी यो निर्णय गरिएको हो ।’
अब एक जिल्लाबाट अर्को जिल्ला जाने गरी अत्यावश्यक कामका लागि पास जारी गर्नुपर्ने अवस्था आएमा उपत्यका बाहिरका जिल्लाहरुको हकमा पुग्ने जिल्लाबाट प्रमुख जिल्ला अधिकारीको स्वीकृति लिनुपर्नेछ । उपत्यका प्रवेश गर्ने पासका लागि गृह मन्त्रालयको स्वीकृति लिएर नम्बर समेत खुलाउनुपर्छ ।
पास नभई सवारी आवागमन गरे अर्को जिल्ला पुग्नु अगावै रोक्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।
गृह मन्त्रालयका उपसचिव अधिकारीका अनुसार उपत्यकामा कार्यरत सरकारी कर्मचारीको हकमा पास अनिवार्य गरिएको छ ।
२६ वैशाखदेखि लकडाउन केही खुकुलो भएसँगै सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवा लगायतसँग सम्बद्ध व्यक्ति कार्यालयको परिचय पत्र देखाएर हिँड्ने गरेका थिए । अब सम्बन्धित नियमक निकायबाट पास अनिवार्य गरिएको छ ।
सञ्चारकर्मीको हकमा भने सूचना विभागले जारी गरेको पासबाट मात्र आवतजावत गर्न दिइने गृहले जनाएको छ ।